कर्णाली नदीको पुलमा टिकटक बनाउनेको भिडले दुर्घटनाको जोखिम
कैलाली | जेठ १९, २०८०
कैलाली: कैलालीको लम्की नगरपालिकाको चिसापानीमा रहेको कर्णाली नदीको पुलमा टिकटक बनाउनेहरूको भिडले दुर्घटनाको जोखिम बढेको छ ।
पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरूको भिडका कारण दुर्घटनाको जोखिम बढेको हो ।
चिसापानीको सीमानासँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली पुलको अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्नु सकारात्मक भए पनि बीच सडकमै टिकटक बनाउनेहरूका कारण जोखिम बढेको हो । चिसापानीलाई पश्चिम नेपालको एक प्रसिद्ध स्थलका रूपमा लिइन्छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरू कर्णाली नदीको चिसो हावामा रमाउन पुग्दा स्थानीय बजारीकरणलाई फाइदा पुगेको भए पनि आवश्यक सतर्कता अपनाउन नसक्दा समस्या भएको हो ।
कर्णाली नदीको पुलमा जोखिमपूर्ण ढङ्गले टिकटक बनाई भाइरल बन्न चाहनेहरूको क्रियाकलापका कारण गाडी आउजाउमै समस्या पर्ने गरेको चालकहरू बताउँछन् । पर्यटक लिएर चिसापानी आएका चालक कृष बोहराले शनिवार पुलमा गाडी पास गर्नसमेत समस्या हुने गरी टिकटक बनाउनेहरूले भरिने बताएका छन् ।
‘गाडी छेउमा राखेर राजमार्गको बीच सडकमा नै बसेर टिकटक बनाउने र सेल्फी खिच्ने गर्छन्' , उनी बताउँछन्। शनिवार र बिदाको दिन त यहाँ धेरै भिड हुन्छ । त्यस्तोमा गाडी पास हुनसमेत समस्या हुन्छ ।
कर्णाली नदी क्षेत्र र पुलमा चिसो हावा चल्ने भएकाले गर्मी छल्नका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या दिनहुँ बढ्न थालेको छ । २०५० सालमा जापानी कम्पनीले निर्माण गरेको यो पुलको तत्कालीन प्रधानमन्त्री स्व। गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको थियो । पुलको बीचमा रहेको ठूलो खम्बामा स्टिलका तारहरू बाँधेर अड्याइएको छ । तारलाई ट्रसमा आकर्षक ढङ्गले बाँधेर राखिएको छ ।
यो दृश्य हेर्नकै लागि पर्यटक पुलमा जाने गर्छन् । पुलको लम्बाइ ५ सय मिटर र १० मिटर चौडाइ रहेको छ । कर्णाली नदीमा र्याफ्टिङ गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यासमेत बढ्दो छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

